Radio Unity 92.2MHz

आलितालका विद्यालयमा जनप्रतिनिधिहरूको छड्के अनुगमन

बिदा स्वीकृति नलिई विद्यालयमा अनुपस्थित रहे कारबाही गरिने

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाका जनप्रतिनिधिहरूले पालिका भित्रका विद्यालयमा छड्के अनुगमन गर्न थालेका छन्। शैक्षिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र शिक्षा शाखाको संयुक्त टोलीले विद्यालय अनुगमन गर्न थालेको हो।

सोमबार आलिताल गाउँपालिका–८ हम्तडस्थित जनज्योती आधारभूम विद्यालयमा अनुगमन गरिएको छ। गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल, वडाध्यक्ष धनबहादुर देउवा र गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवराज पन्तसहितको टोलीले जनज्योती आविमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा विद्यालयको अवस्था सन्तोषजनक नपाइएको गाउँपालिका अध्यक्ष पार्कीले बताए। उनका अनुसार दिउँसो २ः२० बजे विद्यालयमा पुग्दा पठनपाठन समाप्त भई विद्यार्थीको बिदा भइसकेको थियो। अनुगमनका क्रममा विद्यालयको लेखा परीक्षणसम्बन्धी कुनै कामकारबाही नगरेको तथा गाउँपालिकाले दिएको निर्देशन पालना नगरेको पाइएको गाउँपालिका अध्यक्ष पार्कीले जानकारी दिए।

विद्यालय व्यवस्थापन समिति गठन नगरेकाले विव्यस गठनका लागि पत्राचार गर्न लगाइएको उनले बताए। ‘हामीले अनुगमनका क्रममा विद्यालयको आय/व्ययसम्बन्धी आवश्यक कागजात विद्यालयमा भेटेनौँ,’ उनले भने, ‘तीनजना शिक्षक/कर्मचारी विद्यालयमा अनुपस्थित रहेको पनि पायौं।’ विद्यालयको भौतिक अवस्था भने सन्तोषजनक नै रहेको गाउँपालिका अध्यक्ष पार्कीले बताए।

जनज्योती आविका प्रधानाध्यापक गणेशबहादुर खडायतले विद्यालय बिहान ८ बजेदेखि सुरु हुने हुँदा सोमबार पनि दिउँसो २ बजे नै बिदा भएको बताए। उनले मंगलबारदेखि भने बिहान १० बजेदेखि विद्यालयको पठनपाठन थालिने बताए। विद्यालय व्यवस्थापन समिति गठनका लागि असोज १६ गते अभिभावक भेला बोलाइएको प्रअ खडायतले जानकारी दिए।

विद्यालको नियमित कामकारबाहीमा ढिलासुस्ती नगर्न सुझाव दिइएको गाउँपालिका उपाध्यक्ष रावलले बताइन्। उनकाअनुसार सरोकारवाला निकायले दिएको निर्देशन विद्यालयले अनिवार्य पालना गर्न र विद्यालयको आय व्यायको अभिलेख सुरक्षित रूपमा विद्यालयमा राख्न निर्देशन दिइएको छ।

यसैबीच, गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू विद्यालयमा अनुपस्थित रहेको भए यथाशीघ्र विद्यालयमा हाजिर हुन आग्रह गरेको छ। साथै बिदा/काजको स्वीकृति नलिई विद्यालयमा शिक्षक/कर्मचारी अनुपस्थित भएको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी पनि गाउँपालिकाले दिएको छ।

गाउँपालिकाले सोमबार जारी गरेको सूचना :

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।