Radio Unity 92.2MHz

डडेल्धुरामा डेंगुका बिरामी बढ्दै, नियन्त्रण गर्न फेरि ‘लार्भा नष्ट’ अभियान थालिँदै

  • प्रकाश पार्की

डडेल्धुराः डडेल्धुरामा ४८ जनामा डेंगु संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालमा गरिएको परीक्षणमा ४८ जनामा पोजेटिभ देखिएको हो।

पोजेटिभ देखिएकामध्ये डडेल्धुराका ३९, बैतडीका ६, बझाङका २ र डोटीका एक जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। आइतबार स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाममा आयोजना गरेको ‘डेंगु ज्वरोसम्बन्धी सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा उक्त तथ्यांक प्रस्तुत भएको हो।

पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा साउनदेखि हालसम्म सबैभन्दा बढी जिल्ला सदरमुकामको अरमगढी नगरपालिकामा डेंगु संक्रमण देखिएको छ। अरमगढीका १५, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाका ७/७, अजयमेरु र नवदुर्गा गाउँपालिकाका ४/४ तथा आलिताल र भागेश्वर गाउँपालिकाका १/१ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

जिल्लामा डेंगु संक्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान पुनः सुरु गरिने भएको छ। सोमबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिने भएको हो।

यसका साथै स्वास्थ्य कार्यालयले जिल्ला सातवटै स्थानीय तहलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान थाल्न पत्राचार गरिसकेको कार्यालयका प्रमुख केशरबहादुर साउँदले बताए। उनका अनुसार साउन पहिलो साता पनि उक्त अभियान चलाइएको थियो।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान फेरि थालिने प्रमुख साउँदले बताए। डेंगु नियन्त्रणका लागि पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानीजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न आग्रह गरिएको छ।

विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको जोखिम बढी छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले डेंगु ज्वरो रोकथाम तथा नियन्त्रण अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए। उनले डेंगु ज्वरो रोकथाम तथा नियन्त्रणमा लाग्न निर्देशनसमेत दिए। यसको नियन्त्रण गर्नमा सबैले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको डडेल्धुरा अस्पतालका निमित्त मेसु तथा मेडिकल अधिकृत डा. सुनिल पन्तले जानकारी दिए।

देशव्यापी रूपमा फैलिरहेको डेंगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टे टोकाइबाट बच्न सबैले सचेत रहनुपर्ने उनको भनाइ छ। डेंगु लाग्न नदिनका लागि आफूले बस्ने बासस्थान वरिपरी सरसफाई गर्नुका साथै यसका लक्षण देखा पर्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जान उनले सुझाव दिए।

डा.पन्तका अनुसार ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरू देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाकी वा बान्ता हुनेजस्ता लक्षणहरू डेंगु संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ।

डेंगु संक्रमणबाट बच्न झूलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, पानी जम्ने खालड़ा खुल्ड़ी पुर्ने, घर वरिपरी पानी जामा हुनसक्ने टायरहरू नराख्ने तथा लामखुट्टेको टोकाइबाट जोगिनु नै यसबाट बच्ने उपाय भएको डा.पन्तको भनाइ छ।

उनका अनुसार पानी जम्न सक्ने भाँडाहरू, गमला, फूलदानी, खाली बट्टा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्ने उनले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...