Radio Unity 92.2MHz

डडेल्धुरामा डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान फेरि थालियो

डडेल्धुरा: डडेल्धुरामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान फेरि सुरु भएको छ।

डेंगु संक्रमण बढ्न थालेपछि अमरगढी स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो। अभियानमा स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल ५२ नम्बर गुल्म डडेल्धुराले पनि सहयोग गरेको छ।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले बताए। अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको उनको भनाइ छ। उनका अनुसार साउन पहिलो साता पनि उक्त अभियान चलाइएको थियो।

डेंगु नियन्त्रणका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानीजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको प्रमुख साउँदले बताए।

डडेल्धुराका ३९ जनामा डेंगु देखिएको छ। अरमगढीका १५, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाका ७/७, अजयमेरु र नवदुर्गा गाउँपालिकाका ४/४ तथा आलिताल र भागेश्वर गाउँपालिकाका १/१ जनामा डेंगु देखिएको हो।

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको जोखिम बढी छ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको छ । डेंगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टे टोकाइबाट बच्न सबैले सचेत रहनुपर्ने हुन्छ।

ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरू देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाकी वा बान्ता हुनेजस्ता लक्षणहरू डेंगु संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ।

डेंगु संक्रमणबाट बच्न झूलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, पानी जम्ने खालड़ा खुल्ड़ी पुर्ने, घर वरिपरी पानी जामा हुनसक्ने टायरहरू नराख्ने तथा लामखुट्टेको टोकाइबाट जोगिनु नै यसबाट बच्ने उपाय रहेको चिकित्सवहरूको भनाइ छ। पानी जम्न सक्ने भाँडाहरू, गमला, फूलदानी, खाली बट्टा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ।

सम्बन्धित पाेष्टहरु
Loading...