डडेल्धुरा: डडेल्धुराको सदरमुकाम क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। नेपालीहरूका महान् चाडपर्व नजिकिएसँगै जिल्लामा संयुक्त बजार अनुगमनले तीव्रता पाएको हो।
बुधबार जिल्ला सदरमुकामको बगरकोट रोड क्षेत्रमा जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, आन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिलगायतको संयुक्त टोलीले अनुगमन गरेको हो।
बगरकोट रोड क्षेत्रका २० वटा व्यवसायिक फर्मको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए।
उनका अनुसार संयुक्त बजार अनुगमन टोलीले १ हजार ९ सय २० रूयैयाँ बराबरको अखाद्य वस्तु बरामद गरिएको छ। उपभोग्य गर्ने मिति नाघेका ६ वटा बियर र १२ वटा कुरकुरे बरामद गरिएको कार्यालयका प्रमुख भण्डारीले बताए।
उनले पहिलेको तुलनामा व्यापारीहरू धेरै नै सचेत भएको बताए। अनुगमन टोलीले पसलहरूलाई सबैले देख्ने गरी मूल्य सूची राख्न तथा होटललाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले जानकारी दिए। उनले संयुक्त बजार अनुगमनलाई निरन्तरता दिइने बताए।