डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ मा राष्ट्रियस्तरको जय भुवन खुल्ला नकआउट टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। हिन्दु नेपालीहरूको महान् पर्व तिहारको अवसरमा कार्तिक २२ गतेदेखि प्रतियोगिता हुने भएको हो।
नवदुर्गा गाउँपालिकाको मुख्य प्रयोजन र वडा नम्बर १ कोटेलीको सह–प्रायोजनमा प्रतियोगिता गरिन लागिएको आयोजक जय भुवन क्लबले जनाएको छ। स्थानीय स्तरमा रहेका क्रिकेट खेलाडीको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका कार्यवाहक अध्यक्ष किरन ऐरले बताए।
उनका अनुसार प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। म्यान अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।
कार्तिक १० देखि १८ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ता शुल्क ८ हजार पाँच सय राखिएको कार्यवाहक अध्यक्ष ऐरले जानकारी दिए। प्रतियोगिताका खेलहरू नवदुर्गा गाउँपालिका–१ ऐरोडास्थित चोरा मैदानमा खेलाइने आयोजकले जनाएको छ। ड्युज बल खेलाउने प्रतियोगिता कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ।