Radio Unity 92.2MHz

समयमै योजना सम्पन्न गराउन सिडिओ न्यौपानेको निर्देशन

डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जिल्लामा सञ्चालित योजनाहरू समयमै सम्पन्न गराउन निर्देशन दिएका छन्। बिहीबार जिल्लास्थित विकासे कार्यालय कार्यालयका प्रमुखहरूको बैठक बोलाएर उनले सो निर्देशन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा सञ्चालित योजनाको भौतिक प्रगति, समस्या र समाधानका उपायहरूका बारेमा कार्यालय प्रमुखहरूसँग छलफल गरेको हो।

सिडिओ न्यौपानेले आफूले पनि निर्माण कार्य अलपत्र छाड्ने वा काम नै नगर्ने ठेकेदारलाई ताकेता गरिरहेको बताए। उनले योजनासँग सम्बन्धित कार्यालयका प्रमुखहरूलाई पनि काम समयमै सम्पन्न गराउन निर्माण कम्पनीलाई ताकेता गर्न निर्देशन दिए।

बैठकमा सबै कार्यालय प्रमुखहरूले आर्थिक वर्षमा सञ्चालन हुने र भइरहेका कार्यक्रम, बजेटको अवस्थालगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानु सेटी देउवाले खानेपानीका योजनाका बारेमा गुनासो गरिन्। उनले खानेपानी योजना सम्पन्न भए÷नभएको अनुगमन गरेर मात्रै सम्बन्धित कार्यालयले भुक्तानी दिनुपर्ने बताइन्।

ठेकेदारहरूको लापरबाहीका कारण जिल्लामा विकास निर्माण कार्यमा बाधा पुगिरहेको बैठकको निष्कर्ष थियो। नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंह अनुदानका कार्यक्रम राजनीति दलका नेताहरूले दबाब दिने र वास्तविक किसानभन्दा पनि अन्य व्यक्तिले अनुदान पाउने गरेको बताए।

उनले विकास निर्माणका विषयमा यहाँका सञ्चारमाध्यले पटक–पटक समाचार प्रशारण र प्रकाशन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता नै दिइने बताए।

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले अनुदान दिइसकेपछि अनुगमनलाई पनि तीव्रता दिनुपर्ने बताए। उनले अनुदान पाइसकेपछि काम गरेको छ वा छैन त्यसको अनुगमन हुन जरुरी रहेको बताए। प्रमुख जिल्ला अधिकारी न्यौपानेले हरेक तीन÷तीन महिनामा जनप्रतिनिधि, कार्यालय प्रमुखहरूको संयुक्त बैठक राखेर समीक्षा गरिने बताए।

सम्बन्धित पाेष्टहरु
Loading...