डडेल्धुरा: पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। नेपालीहरूका महान् चाडपर्व नजिकिएसँगै जिल्लामा संयुक्त बजार अनुगमनले तीव्रता पाएको हो।
जिल्लाका स्थानीय तहहरूमा अहिले बजार अनुगमन भइरहेको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रमा पनि बजार अनुगमन भइरहेको हो।
बिहीबार जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, आन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिलगायतको संयुक्त टोलीले बागबजार क्षेत्रमा अनुगमन गरेको हो।
बगबजार क्षेत्रका २१ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार गुणस्तरहीन सस, उपभोग्य गर्ने मिति नाघेका बियर बरामद गरी नष्ट गरिएको छ।
उनले संयुक्त बजार अनुगमनलाई शुक्रबार पनि निरन्तरता दिइने बताए। संयुक्त बजार अनुगमन टोलीले बुधबार बगरकोट रोड क्षेत्रमा अनुगमन गरेको थियो।