धनगढी: नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल पवित्रा साँकी अर्थात् मिस पवीलाई नियुक्त गरेको छ।
धनगढी एफसीका सिईओ सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन्।
धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थनसमेत गर्नेछिन्। धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन्।
‘नेपाल सुपर लिगको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु। कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भइसकेँ,’ उनले भनिन्, ‘पहिलो सिजनमा सबैको अपार माया, साथ, समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो। यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ। धनगढीले अझै राम्रो फुटबल पस्किदै दर्शकहरुलाई मनोरञ्जित पार्ने विश्वास छ।’
धनगढी एफसीका सिईओ केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डरको रुपमा पाउँदा खुसी व्यक्त गरे।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ। एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान् मिडफिल्डर आशिष चौधरी रहेका छन्। ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीले कात्तिक १० गते वीरगञ्ज युनाइटेडसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।