Radio Unity 92.2MHz

संविधान मास्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

टीकापुर: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधानमास्ने षड्यन्त्र भइरहेको बताएका छन्। समाजवादी जागरण अभियानअन्र्तगत आज बिहीबार १२औं दिन कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधनगर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताएका हुन्।

उनले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोशिस भइरहेको छ। त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ।’ उनले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

उनले, ‘यस्तो कुरामा सरकार सचेत रहोस्।’ संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए। उनले देशको सिमानाका बारेमा संयमितभएर बोल्नुपर्ने औंल्याए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै उनले भने, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस्।’

नेपालको संसद्मा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै उनले थपे, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसद्मा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका विषयमा पनि स्पष्ट हुनुहोस्।’

एकअर्को प्रसंगमा अध्यक्ष नेपालले यूवाहरूमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको उल्लेख गर्दै एकीकृत समाजवादीले युवाहरूलाई समेट्दै अगाडि बढीरहेको र जागरण अभियानकाक्रममा हजारौं युवाहरुलाई समेटेको बताए।

उनले भने, ‘युवाहरू निराशन नहुनुहोस्, हामी छौं, जनताको माझमा जाँदा साकारात्मक प्रभाव पाएका छौँ, युवाहरूको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज शुक्रबारका दिन कैलालीका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त अभियान २७ असोज शनिबार कञ्चनपुरको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ। अभियान २८ असोज आइतबार सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने एकीकृत समाजवादीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...