डडेल्धुरा: डडेल्धुरामा ६८ औँ प्रहरी दिवस मनाइएको छ। विभिन्न कार्यक्रम गरेर मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पनि प्रहरी दिवस मनाएको हो । दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँचजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
जिल्लाभर कार्यरत प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने चारजना प्रहरी कर्मचारीलाई नगद पुरस्कार र असोज महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना प्रहरी कर्मचारीलाई असोज महिनाको उत्कृष्ट घोषणा गरी सम्मान गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुमबहादुर नायकले जानकारी दिए।
उनका अनुसार पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी हवल्दार दीपेन्द्रबहादुर बम, प्रहरी जवानहरू ललित कोली, भुवनेश्वरीकुमारी धामी र विशाल भट्ट रहेका छन्। असोज महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट इलाका प्रहरी कार्यालय जोगबुढामा कार्यरत प्रहरी हवल्दार देवसिंह साउँद सम्मानित भएका छन्।
कार्यक्रममा अमर प्रहरी परिवारका तीन जना आश्रित आफन्तजनहरूलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ। अमर प्रहरी दिलबहादुर ऐर, धर्म मल्ल र कर्णबहादुर खड्काका परिवारलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसका साथै दिवसका अवसरमा आयोजित आन्तरिक भलिबल र ब्याटमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार दिइएको प्रहरी निरीक्षक नायकले जानकारी दिए।
‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा ज्ञानोदय विद्या निकेतनकी छात्रा प्रमिला बोहरा प्रथम, महेन्द्र माध्यमिक खलंगाकी छात्रा ज्योति ओझा द्वितीय र घटाल मावि नुवाकोटका आयुष्मा पाली तृतीय भएकी थिइन्।
प्रहरी नायब उपरीइाक दीपककुमार कार्कीको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको प्रमुख आथित्यतामा प्रहरी दिवस कार्यक्रम सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको शहीद स्मारकमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरेका थिए।
सिडिओ न्यौपानेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। जनताको जिउधनको सुरक्षा गर्न जिल्ला प्रहरी कार्यालयको नेतृत्व र सम्पूर्ण प्रहरी कर्मचारीले खेलेको भूमिका अहम् रहेको उनको भनाइ थियो। उनले इमान्दार भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए।
कार्यक्रममा डीएसपी कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्नमा आफूहरू लागि रहेको बताए । उनले अपराध नियन्त्रणमा सबै पक्षको सहयोग पनि आवश्यक रहेको बताए।
जिल्ला विभिन्न ठाउँमा प्रहरीका अस्थायी पोष्ट स्थापना गरेर सेवा दिइरहेको उल्लेख गर्दै उनले पछिल्लो समयमा प्रहरीले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत ग्रामीण क्षेत्रसम्म पुगेर जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको बताए।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी परिवार, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, नागरिक समाज, पत्रकार र प्रहरी कर्मचारीहरू सहभागीता रहेको थियो।
प्रहरी संगठनको स्थापना भएको दिनको समझनामा देशभरजस्तै ६८औँ प्रहरी दिवस डडेल्धुरामा पनि मनाइएको हो। प्रहरी संगठनको स्थापना विंस २०१२ साल असोज ३१ गते भएको थियो।
प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेर २०५२ सालदेखि प्रहरी दिवस मनाउँदै आएको छ।