बैतडीः बैतडीका एक पुरुष तीन दिनदेखि बेपत्ता रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ श्रीखण्ड जालाघर बस्ने ५८ बर्षीय माधव भट्ट बिहीबार रातिदेखि बेपत्ता भएका हुन् ।
खाएर घरमा सुतेका भट्ट एक्कासी घरबाट बेपत्ता भएका उनकी बुहारी भागरथी भट्टले बताइन् । रातिको समयमा घरबाट बेपत्ता भएका भट्टको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न सकिएको छैन् । महारुद्र देवताका पूजारी समेत रहेका भट्ट हराएको बिषयमा प्रहरीमा समेत जानकारी दिइसकेको उनकी बुहारी भागरथीले बताइन् ।
बेपत्ता भट्टका छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका र बुवा हराएपछि घर आउन लागेका बताइएको छ । स्थानीयहरु मिलेर घरआसपासका जंगलमा समेत भट्टको खोजी गरिएको र कहिँकतै फेला पार्न नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।
बेपत्ता भट्टकी श्रीमति प्यारालाइसिस रोगबाट ग्रसित रहेकाले उनी मानसिक तनावमा रहेको बुझिएको छ । बेपत्ता भट्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७१२६०७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।