Radio Unity 92.2MHz

दार्चुलाको प्रसिद्ध लटिनाथ मन्दिरमा आज राति जात्रा लाग्दै

दार्चुला : दार्चुलामा रहेको प्रसिद्ध लटिनाथ मन्दिरमा आज राति जात्रा लाग्दैछ। हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाको राति लटिनाथ मन्दिरमा पूजाआजासहित जात्रा लाग्ने गरेको छ। दार्चुलाको मार्मास्थित तलाइमाण्डौंमा मूलथान रहेको लटिनाथ देवताका ठाउँठाउँमा मन्दिरहरु रहेका र ती मन्दिरहरुमा स्थानीय परम्परा अनुसार आज राति जात्रा लाग्ने गरेको दार्चुलाका स्थानीय विष्णु जोशीले बताए।

मलैनाथ अर्थात मालिकार्जुनका पुत्रका रुपमा रहेका लटिनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन जात्रा लाग्ने गरेको जोशीले बताए। ठाउँ अनुसार लटिनाथलाई लटबाब, लट्या, लाटो आदि नामले पुकारिने गरेको जोशीले बताए।

लटिनाथ देवतलाई न्यायका देवताको रुपमा पूजाआजा गर्ने गरिन्छ। मालिकार्जुन देवताकै बरदानका आधारमा लटिनाथ देवताको पहिला पूजाआजा हुने गरेको स्थानीय जानकारहरुले बताएका छन्।

मालिकार्जुन अर्थात मलैनाथले हुणदेशका राजा छिपलाकी रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा लटिनाथले प्रतिकार गरेकाले पहिलो पूजा लटिनाथ देवताको गर्ने गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...