Radio Unity 92.2MHz

डडेल्धुरा प्रहरी ब्लफ कलबाट हैरान : फोन गरेर जिस्किनेमा महिला बढी

डडेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा ‘ब्लफ कल’ आउँदा डडेल्धुरा प्रहरी हैरान बनेको छ। अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन्।

दैनिक करिब ३०र ४० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरले बताए। ऐरका अनुसार फोन गर्नेले गलत सूचना दिने, जिस्कीने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्ने गर्छन्।

ब्लफकल बिशेष गरेर रातीको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। डीएसपी कार्कीका अनुसार ब्लफकल गर्नेमा केटीहरूको संख्या बढी छ।

गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन १०० नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने डीएसपी  कार्कीले बताएका छन।

सम्बन्धित पाेष्टहरु
Loading...