भागेश्वर गाउँपालिकाले ‘धुरा जाँत’का अवसरमा सार्वजनिक बिदा दिने
डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिने भएको छ। भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका दिन राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर धुरामा भब्य मेला लाग्ने गर्दछ। सोही मेलाको अवसरमा भागेश्वर गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए।
मंसिर १० गते आइतवारका दिन भागेश्वर गाउँपालिका क्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहका सवै संघसंस्थाहरु बन्द रहने उनले बताए।
भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भएपनि भब्य मेला भने वर्षमा दुई पटक मेला लाग्ने गर्दछ। ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती लाग्ने गर्दछ ।
समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो। भागेश्वर देवताको दर्शन गर्न शुदुरपश्चिमका नौ वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन्।
भागेश्वर मन्दिरमा नजिकै सम्म सडक सञ्जालले छोएपछि धर्मालम्बी हरुलाई निकै सहज भएको छ। भागेश्वर देवताको नामबाट भागेश्वर गाँउपालिका को नामाकरण पनि गरीएको छ ।