डडेल्धुरा : चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज लाग्दैछ।डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल देवताको मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल द्वादशीको दिन बडाल जात लाग्ने गर्दछ । कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीको दिनमा जात्रा हुने गरेको गन्यापधुरा गाउँपालिका–२ का अध्यक्ष मनोज देउवाले बताए।
चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रही आएको छ।
बडाल जाँतको अवसरमा गन्यापधुरा गाउँपालिकाले आज सार्वजनिक बिदा दिइएको छ। डडेल्धुरालगायत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन् । मेलामा स्थानीय उत्पादनको बिक्रि समेत हुने गरेको छ।
मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरु वर्षझै यो वर्ष पनि जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको गन्यापधुरा गाउँपालिका–२ का अध्यक्ष देउवाले बताए ।