डडेल्धुराः डडेल्धुराको प्रसिद्ध जगन्नाथ मेला आज लाग्दै छ । स्नीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित जगन्नाथ मेला आज दिउसेडी मेला लाग्ने भएको हो। अजयमेरु गाउँपालिका ३ र ४ को चिपुरमा रहेको जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।
गुनपाल ,चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए।
पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ।‘खोलेइ जाँत’ को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्।
साथै संरक्षणका साथ तोकिएका चार किल्लाहरू पूर्वमा राउत कट्टे, पश्चिममा चिपुर न्वाउलो हाटपाट न्वाउलो, उत्तरमा माहर गडो हल्कुडा र दक्षिणमा खिरे चौतारा मणिलेक भित्र कसैले गैरकानुनी काम गरेको वा गराइएको पाइएमा जरिवाना गरिने क्लबका अध्यक्ष भट्टले बताए।