डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। बिहीबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेल्धुरा र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराको संयुक्त आयोजनामा जनचेतनामूलक डेमो प्रदर्शन गरिएको हो।
स्थानीयलाई सचेत गराउनका लागि जनचेतनामूलक डेमो प्रदर्शन गरिएको सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पालले बताए। भूकम्प आइरहेको अवस्थामा घरभित्र रहँदा वा घर बाहिर रहँदा कसरी सुरक्षित रहनेबारेमा जनचेतनामूलक डेमो प्रदर्शन गरिएको थियो।
गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पालका अनुसार घरभित्र भित्र रहँदा भूकम्प आउँदा सकभर घरभन्दा बाहिर सुरक्षित र खुल्ला ठाउँमा गएर बस्नुपर्दछ यदि घर बाहिर निस्कन सकिएन भने घरभित्र रहेको काठको टेबल, खाट, कुर्सी मुनि ओत लागेर सबैभन्दा संवेदनशील अंग टाउकोलाई बचाउनुपर्छ भन्ने सन्देश डेमोमार्फत् प्रदर्शन गरिएको थियो।
भूकम्प गइसकेपछि बिजुलीको तार सर्ट भई घरमा आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भन्नेबारे पनि डेमो प्रदर्शन गरिएको थियो। यसका साथै कार्यक्रममा दैनिक रूपमा प्रयोग गर्ने ग्याँस सिलिण्डरमा आगो लागेमा कसरी नियन्त्रण गर्ने सम्बन्धमा पनि डेमो प्रदर्शन गरिएको छ।
ग्याँसमा आगो लाग्दा नआत्तिएर कम्बल वा बोरालाई पानीले भिजाएर ग्याँस सिलिण्डरमा लागेको आगोलाई छोपिदिएर त्यस नियन्त्रणमा ल्यान सकिने सन्देश डेमोबाट देखाइएको थियो।
डेमो प्रदर्शन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय डडेल्धुराका प्रमुख महेशप्रसाद अवस्थी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार र स्थानीयको उपस्थिति रहेको थियो।