डडेल्धुरा: उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सुदूरपश्चिमको महेन्द्रनगरमा केन्द्रीय कार्यालय र अन्य चार जिल्लामा १० शाखा रहेको सहकारीको साधारणसभा शनिबार डडेल्धुरामा सम्पन्न भएको हो ।
सहकारीका संचालक समितिका सदस्य तथा वरिष्ठ पत्रकार चित्राग थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अमरगढी नगरपालिका–२ का वडाध्यक्ष हेमराज पन्त प्रमुख अथिति रहेका थिए। कार्यक्रममा सहकारी संस्थाको वर्षभरको आर्थिक आयव्यय प्रतिवेदन सञ्चालक समितिका वरिष्ठ सदस्य तथा वरिष्ठ पत्रकार थापाले प्रस्तुत गरेका थिए। साधारणसभामा संस्थामा भएको हालसम्मको हिसाब लेखनसमेत सार्वजनिक गरिएको थियो।
जस अनुसार सेयर पुँजी आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म २३ हजार ५३८ जना सदस्य रहेका छन् भने संस्थाको कुल पुँजी रु १५ करोड ६२ लाख ३९ हजार दुईसयबाट असार मसान्तसम्ममा १८ करोड ८५ लाख ७४ हजार पाँच सय पु¥याउन सफल भएको प्रतिवेदनमा उल्लेख छ। जसअनुसार गतवर्षको तुलनामा ७० प्रतिशतले वृद्धि भएको सो संस्थाले जनाएको छ।
सहकारीले आगामी तीन वर्षमा २५ करोडभन्दा माथि कुल पुँजी पुगाउने लक्ष्य राखेको छ। संस्थाको बचत रकम हालसम्ममा ११ अर्ब ५० करोड ९६ लाख ८३ हजार ५८४ पैसा ७८ निक्षेप संकलन गरेको छ। भने फिर्ता रकम ९ अर्ब ९७ करोड १७ लाख ५२ हजार तीन सय २२ पैसा छ।
संस्थामा बचत फिर्ता गरी हाल संस्थाको निक्षेप दायित्व १ अर्ब ५३ करोड ७९ लाख ३१ हजार २६२ पैसा ७२ रहेको प्रतिवेदनमा उल्लेख छ । जुन गतवर्षको तुलनामा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ।
सहकारीले डिजिटल प्रविधिबाट सेयर सदस्यहरूलाई आफ्नो बचतको रकम झिक्न सजिलो होस् भन्ने हेतुले सजिलो बैंकिङ कारोबारसमेत सुरु गरेको जनाइएको छ। जसअनुसार एटिएममार्फत पनि सजिलै रकम झिक्न सकिने व्यवस्था सहकारीले गर्दै आएको छ।
कार्यक्रमा प्रमुख अथिति वडाध्यक्ष पन्तले सहकारीलाई सबैले मिलेर अगाडि बढाउनुपर्ने र कर्जाको सही स्थानमा पहिचान गरेर लगानी गर्नुपर्ने सुझव दिएका थिए। कार्यक्रमा संस्थाका सेयर सदस्यहरुको उल्लेख्य सहभागिता थियो।