Radio Unity 92.2MHz

डडेल्धुरामा पनि मनाइयो अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

डडेल्धुरा: डडेल्धुरामा पनि आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराको आयोजना तथा अमरगढी नगरपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो।

‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ जिल्ला सदरमुकाममा दिवस मनाइएको अपाङ्ग कल्याण सेवा समितिका अध्यक्ष गणेशप्रसाद अवस्थीले जानकारी दिए।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ। अपाङ्गता भएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै यो दिवस मनाइन्छ। तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन्। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले आफूहरूले भागिरहेका समस्याहरू पोखेका थिए। अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।

 

गन्यापधुरा अपांग समन्वय समितिका अध्यक्ष लक्ष्मी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूले पाउनुपर्ने अधिकार र सेवासुविधा नपाएको बताए। शिक्षाको क्षेत्रमा पनि अपाङ्गता भएकाहरू पछाडि परेको उनको भनाइ थियो। उनले अपाङ्गता भएका व्यक्तिलाई दयामायाभन्दा पनि अवसरको खाचो रहेको औंल्याए।

जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराका पूर्वउपाध्यक्ष जयराज भट्टले अपाङ्गता भएका व्यक्तिहरूका लागि ऐन कानुन बने पनि कार्यान्वयन नभएको गुनासो पोखे। ऐन कानुनहरू कागजमै सीमित रहेको उनको आरोप थियो। अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य र यातायातमा पनि विभेद गरिएको पूर्वउपाध्यक्ष भट्टले बताए।

कार्यक्रममा महिला मुक्ति समाज डडेल्धुराकी उपाध्यक्ष किशोरी धामीले आफ्नो अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन्। उनले आफूहरू पनि त्यस अभियानमा साथ र सहयोग गर्न तयार रहेको जनाइन् ।

अमरगढी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख इन्द्रा रावलले बजेटको अभाव रहेकाले अपाङ्गता भएका व्यक्तिहरूले चाहेअनुसारको सहयोग गर्न नसकिएको बताइन्। उनले नगरपालिकाले अलिअलि सहयोग गर्दै आएको र अपाङ्गता भएका व्यक्तिहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने योजना रहेको जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अथिति अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकालले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताइन्। उनले आफूले अपाङ्गता भएकाहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराका अध्यक्ष गणेशप्रसाद अवस्थीले सरकार अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा नरहेको बताए। आफ्ना हकअधिकार सुनिश्चितताका लागि सबै अपाङ्गता भएका व्यक्ति एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।

सम्बन्धित पाेष्टहरु
Loading...