Radio Unity 92.2MHz

विपीनलाई छुटाउन कतारसँग नेपालको फेरि आग्रह

काठमाण्डौ :  हमासले बन्धक बनाएका भनिएका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीम मूल घर भइ कञ्चनपुरमा बस्दै आएका जोशी गएको असोज २० गतेदेखि हमासको नियन्त्रणमा रहेका बुझिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत जोशी भदौ अन्तिम साता इजरायल गएका थिए । उनीसंगै ४९ जना विद्यार्थीहरु इजरायल पुगेका थिए । ती मध्ये विद्रोही समूह हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो ।

हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...