डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ मा अवस्थित ताल आलितालको बृहत् सरसफाइ अभियानअन्तर्गत दोस्रो दिन विद्यार्थीहरूले सफाइ गरेका छन्। आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माविका विद्यार्थीहरूले आइतबार ताल परिसरमा सरसफाइ गरेका हुन्।
आलिताल गाउँपालिका र रणबम गण दह ब्यारेक डडेल्धुराको संयुक्त आयोजनामा शनिबारदेखि त्रिदिवसीय आलिताल बृहत् सरसफाइ कार्यक्रम सुरु भएको थियो। ‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।
कृषि जेटिए, कक्षा ११ र १२ का विद्यार्थीहरूले आइतबार ताल परिसरमा सरसफाइ गरेको सो विद्यालयका अंग्रेजी शिक्षक इन्द्रबहादुर साउँदले जानकारी दिए। साउँदको नेतृत्वमा विद्यार्थीको टिम आएर ताल वरपर रहेका झाँडी सफाइ गरेको हो। यसका साथै ताल वरपर रहेको अवरुद्ध फुटपाथ पनि विद्यार्थीहरूले सफा गरेका छन्। सरसफाइ कार्यक्रममा १ सय ४० जना विद्यार्थी सहभागी थिए।
पढाइका क्रममा सिकेका कुराहरूलाई व्यवहारमा ल्याउनका लागि आफूहरू ताल सरसफाइ कार्यक्रममा सहभागी भएको विद्यार्थी माया बोहराले बताइन्। ‘विद्यालय राम्रो हुनका लागि हाम्रो समुदाय राम्रो र सफा राख्नुपर्दछ। विद्यालय र समुदायको सम्बन्ध नङ र मासुको जस्तो छ,’ उनले भनिन्, ‘हामीले पढेका कुराहरू पढाइमा मात्रै सीमित राख्नु हुँदैन। ती कुराहरूलाई व्यवहारमा पनि लागू गर्नुपर्छ। त्यसैले हामी यहाँ सरसरफाइ गर्न आएका हौँ।’
सरसफाइ अभियानअन्तर्गत दोस्रो दिन जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। पहिलो दिन शनिबार नेपाली सेना, नेपाल प्रहरी र केही स्थानीयले सरसफाइ गरेका थिए। सोमबार स्थानीयबासीले तालको सफाइ गर्ने कार्यक्रम रहेको छ। आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो।
समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ। एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ।
यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ। तालमा अहिले फुटपाथ, आरामघर, पिकनिक स्पोट, भ्यू टावर जस्ता संरचना बनेका छन्।