डडेल्धुरा: नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरा अस्पतालमा चाँडै चिकित्सक पठाउने आश्वासन दिएका छन्। अस्पतालको अनुगमनका लागि आइतबार बेलुकी यहाँ आएका मन्त्री बस्नेतले चिकित्सक पठाउने बताएका हुन्।
स्थायी रूपमा अस्पतालको समस्या समाधान गर्नका लागि मेडिकल कलेज सञ्चालन गर्नुपर्ने बताए। ‘यहाँ डाक्टरको अभाव रहेछ। हामी चाँडै चिकित्सक पठाउँछौँ,’ उनले भने, ‘तर स्थायी रूपमा यहाँको समस्या समाधान गर्नका लागि मेडिकल कलेज सञ्चालन गर्नुपर्ने हुन्छ। चिकित्सकहरू दुर्गम जान मान्दैनन्। त्यसैले स्थानीय स्तरमा जनशक्ति उत्पादन गर्नु आवश्यक छ।’
उनले सय शय्यामा सञ्चालन भइरहेको डडेल्धुरा अस्पताल तीन सय बेडमा स्तरोन्नति गरिने बताए। ‘हामीले तीन सयको ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पठाइसकेका छौं। त्यो स्वीकृत भएर आएको खण्डमा अस्पतालको बेड संख्या बढ्ने र जनशक्ति पनि बढ्नेछ। त्यसले यहाँ सेवा प्रवाह गर्न सजिलो पनि हुन्छ।’
मन्त्री बस्नेतले सरकारले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएकाले दरबन्दीअनुसार चिकित्सक पठाउन नसिएको स्वीकार गरे। ‘गफ कम गर्ने र काम बढी गर्ने मान्छे हुँ। २०५४ सालदेखि दरबन्दी बढाइएको छैन,’ उनले भने, ‘सोही कारण देशभरका अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नै पठाउन सकिएको छैन।’
मन्त्री बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने दाबी गरे। ‘पैसा अभावमा अस्पतालबाट घर फर्किएर मान्छे मनिरहेका थिए। तर अब उपचार गर्न पैसा नभएर मान्छे मर्नु पर्दैन। राज्य उनीहरूको उपचार गरिदिन्छ।’ उनले पछिल्लो दुई हप्तामा स्वास्थ्य बीमा क्षेत्रमा धेरै सुधार भएको पनि दाबी गरे। उनले डडेल्धुरा अस्पताललाई डायलिसिस सेवा चाँडै सुरु गर्न निर्देशन पनि दिए।
मन्त्री बस्नेतको स्वागतमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले अस्पताल तीन सय शय्यामा स्तरोन्नति गर्नका लागि २ करोड बजेटसमेत विनियोजन गरिएको जानकारी दिए।
उनले चालु आर्थिक वर्षभित्र अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने बताए। आगामी ३ वर्षपछि डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएसको अध्यापन सुरुवात हुनेसमेत सचिव पोखरेलले जानकारी दिए।
‘ओएनएम अर्थ मन्त्रालयमा पठाएका छौँ। यो आर्थिक वर्षभित्र स्वीकृत हुन्छ। अबको तीन वर्षभित्र एमबीबीएसको पढाइ सुरु हुन्छ,’ उनले भने, ‘दरबन्दीका विषयमा हामी चिन्तित छौँ। म पहिलोपटक डडेल्धुरा आएका हुँ। तर यस अस्पतालको विकास र विस्तारमा हामी लागिरहेका छौँ। अस्पताल विकासमा स्थानीय सरकार र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ।’
सुदूरपश्चिम प्रदेशसभा सरस्वती खड्काले अस्पताल चुस्त बनाउनुपर्ने बताइन्। उनले मन्त्री बस्नेतलाई यहाँ मुटु रोगको सेवा दिनका लागि पहल गरिदिन अनुरोध गरे। ‘अस्पतालको विकासका लागि हामी सबै हातेमालो गरेर अगाडि बढेका छौँ,’ उनले भनिन्, ‘यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउने छौँ।’
त्यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयल उपकुलपति अम्मराज जोशीले डडेल्धुरा मेडिकल कलेजमा यसै माघ अन्तिम सातादेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु हुने जानकारी दिए। डडेल्धुरा अस्पताल सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो।
कार्यक्रममा अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोषकुमार गुप्ताले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो पोखे। ‘जिल्ला हुँदै संघीय अस्पताल भएको छ। दरबन्दीअनुसार चिकित्सक छैनन्। पाँच सय शय्याको अनुमतिका क्रममा छ। तीय सय शय्याको अस्पताल स्वीकृत भए मेडिकल कलेज चलाउन सकिन्छ,’ उनले भने, ‘अस्पतालमा अहिले सबै लगाएर करिब २ सय जनशक्ति छन्। विशेषज्ञ चिकित्सक छैनन्। मन्त्रीज्यूलाई यहाँ विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध छ।’ दक्ष जनशक्ति अभावमा फूलफेजमा अस्पताल रन हुन नसकेको उनले बताए।
यस्तै, नेकपा (एमाले) डडेल्धुरा संयोजक गजेन्द्र शाहीले यहाँ जनताको ठूलो संघर्षहरूले अस्पताल बनाउन सकिएको उल्लेख गर्दै संरचना र पर्याप्त जनशक्तिको अभाव अस्पतालले भोगिरहेको बताए। अस्पतालले गुणस्तरीय सेवा दिन सके सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले सेवा पाउने उनले बताए।
उनले स्वास्थ्यमन्त्री बस्नेतलाई यहाँबाट फर्किएलगत्तै कम्तीमा तीन सय शय्याको अस्पतालको स्वीकृत दिन आग्रह गरे। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले मन्त्री बस्नेतलाई १० बुँदे मागपत्र बुझाएका थिए।