डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा नगरस्तरीय दुईदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। अमरगढी नगरपालिकाको आयोजना तथा महेन्द्र मावि खलंगाको व्यवस्थापनमा मंगलबारदेखि रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको मंगलबार बिहान एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्घाटन गरेकी हुन्। उद्घाटन गर्दै प्रमुख अतिथि खड्काले जिल्लामा एउटा पनि खेलकुद मैदान नहुनु दुःखद् भएको बताइन्। उनले अब जिल्लामा मैदान बनाउन पहल गर्ने प्रतिबद्धता जनाइन्।
‘खेलकुद क्षेत्रमा तीनै तहलका सरकारको बजेट न्यून छ। हाम्रो जिल्लामा एउटा पनि खेलकुद मैदान नहुनु दुःखद् हो। मैदान बनाउन मैले पहल गर्नेछु,’ उनले भनिन्, ‘शिक्षकहरूले पनि जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ। कभर्डहल बनिरहेको छ। अब राम्रो मैदान आवश्यक छ। त्यसका लागि पहल गर्छु।’
जिल्लामा भौतिक पूर्वाधार विकासमा सुधार भएको उल्लेख गर्दै प्रदेशसभा सदस्य खड्काले अब विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्नतिर ध्यान दिनुपर्ने बताइन्। खेलकुदलाई विद्यार्थी तथा युवाहरूलाई सक्षम बनाउने उनको भनाइ थियो। सबैले हातेमालो गरेर शिक्षा र स्वास्थ्यमा जिल्लालाई अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले खेल माध्यमबाट समाजमा रहेका विकृतिहरू न्यूनीकरण गर्न सकिने बताए। उनले जिल्ला खेलकुद स्टेडियम आवश्यक रहेको औंल्याए।
खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले त्यति धेरै चासो नदिएको उनको भनाइ थियो। खेलका माध्यमबाट व्यावसायिक पनि बन्न सकिने उल्लेख गर्दै उनले खेलाडीलाई जिल्ला र देशकै शिर ठाडो हुने गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरे।
अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले जतिसक्दो चाडो खेल मैदान निर्माणको लागि पहल गर्ने प्रतिबद्धता जनाए। जिल्लामा व्यवस्थित मैदान नहुनु दुर्भाग्यपूर्ण भएको उनको तर्क थियो। राष्ट्रिपति रनिङ शिल्ड विद्यार्थीका लागि आफूमा भएको प्रतीभा देखाउने मञ्च भएको नगर प्रमुख जोशीले बताए।
‘विद्यालयमा पढ्नु मात्रै ठूलो कुरा होइन। यस्ता किसिमका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरू सहभागी हुनुपर्दछ,’ उनले भने, ‘अनुशासित भएर सबै विद्यार्थीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले खेलकुदले मान्छेलाई लक्ष्य राख्न र क्रियाशील बनाउन मद्धत गर्ने बताए। खेलमा भाग लिइसकेपछि जित र हार स्वभाविक भएकाले हारबाट पनि जित्ने प्रेरणा मिल्ने उनको भनाइ थियो।
व्यवस्थापनको जिम्मेवारी पाएको महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले विद्यार्थीको जीवनमा खेलकुदमा महत्वपूर्ण भूमिका हुने बताए। विद्यार्थीको भविष्य निर्माणमा पनि खेलकुदले अहम् भूमिका राख्ने उनको भनाइ थियो। खेलमैदान बनाउन सबैको ध्यान जानुपर्ने बनाउँदै प्रअ ऐरले खेलकुद पूर्वाधार निर्माणमा लाग्न तीनै तहका सरकारलाई आग्रह गरे।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गरे। टिम गेमको टोली छनोट गर्दा उत्कृष्ट खेलाडीलाई मात्रै छनोट गर्न रेफ्री र अम्पायरलाई उनले निर्देशन दिए।
नगरस्तरीय राष्ट्रिपति रनिङ शिल्डमा नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताका खेलहरू टुँडिखेल र महेन्द्र माविको प्राङ्गणमा भइरहेका छन्।
भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायत खेल सहभागी छन्। नगरस्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछ। प्रतिगिता बुधबार समापन हुने आयोजकले जनाएको छ।