डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाका सबै ६ वटा वडामा सुरक्षा उपस्थिति हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ६ राजुलमा स्थायी प्रहरी पोष्ट स्थापना भएसँगै सबै ६ वटै वडामा सुरक्षा उपस्थिति हुने भएको हो।
आइतबार सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले एक कार्यक्रमका बीच प्रहरी पोष्टको उद्घाटन गरिन्। नागरिकको सुरक्षाको जिम्मेवारी सबैको भएको र स्थापना भएको प्रहरी पोष्टले जनतालाई सुरक्षाको अनुभूति गराउने बताइन्।
जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गराउन स्थायी प्रहरी पोष्टले महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए। उनका अनुसार ५ वडाहरूमा वडाको केन्द्रमा प्रहरीले सेवा दिइराखेको छ भने वडा नम्बर १ को अनारखोलीबाट सेवा प्रवाह हुँदै आएको छ।
उनले भने, ‘स्थानीय सरकारले जनातका आधारभूत आवश्यकता पूरा गर्छ, नागरिकको सुरक्षा अति आवश्यक छ त्यसअनुसार प्रहरी चौकी स्थापना भएका छन् जिल्ला प्रहरी कार्यालयलाई धन्यावाद।’ घरेलु हिंसालगायतका गैरकानुनी गतिविधि रोक्न प्रहरीले सहयोग गर्ने वडा नम्बर ६ का अध्यक्ष हरिसिंह भण्डारीले बताए।
उनले नागरिकसँग गरेका प्रतिबद्धता अनुरूप प्रहरी पोष्ट स्थापना भएको बताए। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले प्रहरीसँग जनताले सहकार्य गर्न सके विभिन्न समस्या समाधान हुने बताए। उनका अनुसार राजुलमा स्थापना भएको प्रहरी पेष्टमा सात जनाको टोली खटिनेछ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद खडका, गाउँपालिका अध्यक्ष भट्ट, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, जिल्ला प्रहरी कार्यालका प्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझा, वडाध्यक्षहरूलगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहको थियो।