Radio Unity 92.2MHz

डडेल्धुरामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, देउवाले गरे उद्घाटन

डडेल्धुरा: डडेल्धुरामा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यसवर्षको रनिङ शिल्ड जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा शुक्रबारदेखि सुरु भएको हो।

प्रतियोगिताको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै उनले सुदूरपश्चिम खेलकुदको उर्वर भूमि भएको बताए। सुदूरपश्चिमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेको उनले बताए।

मन्त्री देउवाले आगामी वर्षको बजेटमा डडेल्धुरामा खेल मैदान निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। ‘आगामी वर्षको बजेटमा खेल मैदानका लागि बजेट विनियोजन गर्नेछु। हामीले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘सुदूरपश्चिम खेलकुदको उर्वर भूमि हो। यस्ता किसिमका प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो टेवा पुग्छ।’

खेलकुदमा भाग लिँदा अनुशासन निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री देउवाले सबै खेलाडीलाई अनुशासनपूर्वक प्रतियोगतामा सहभागी हुन आग्रह गरे।

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले जिल्लामा व्यवस्थित मैदान नहुनु दुर्भाग्यपूर्ण भएको बताइन्। उनले जिल्लामा मैदान बनाउन आफूले पनि पहल गर्ने प्रतिबद्धता जनाइन्। जिल्लाको विकास सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

 

उद्घाटन कार्यक्रममा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले खेल मैदानको अभाव रहेको र मैदान बनाउन प्रयास गरिरहेको बताए। राष्ट्रिपति रनिङ शिल्ड विद्यार्थीका लागि आफूमा भएको प्रतीभा देखाउने मञ्च भएको उनको भनाइ थियो। उनले जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए।

यस्तै, अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सबै पालिकामा खेल मैदान निर्माण गर्नुपर्ने बताए। उनले खेलकुद क्षेत्रलाई पनि अरु सरह प्राथमिकतामा राखेर बजेट छुट्याउनुपर्ने र खेलाडी उत्पादनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

सीमित पूर्वाधारमा पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेको उनको भनाइ थियो। अध्यक्ष भट्टले आगामी बजेटमा खेलकुद क्षेत्रलाई विषेश ध्यानमा राख्दै पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारलाई आग्रह गरे।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले खेलकुदले मान्छेलाई लक्ष्य राख्न र क्रियाशील बनाउन मद्दत गर्ने बताए। खेलमा भाग लिइसकेपछि जित र हार स्वभाविक भएकाले हारबाट पनि जित्ने प्रेरणा मिल्ने उनको भनाइ थियो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गरे। टिम गेमको टोली छनोट गर्दा उत्कृष्ट खेलाडीलाई मात्रै छनोट गर्न रेफ्री र अम्पायरलाई उनले निर्देशन दिए। उनले सीमित स्रोतसाधनका बाबजुत प्रतियोगिता सञ्चालन गर्नुपरेको बताए।

नेपाली सेनाको खेलमैदान टुँडिखेलमा भइरहेको प्रतियोगितामा जिल्ला साता वटै स्थानीय तहको सहभागिता रहेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू खेलाइँदैछ। प्रतियोगिता शुक्रबार र शनिबार चल्नेछ। जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्।

१३औँ जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताका अजयमेरु गाउँपालिका–३ मा रहेको चम्बेताल खेल मैदानमा खेलाइएको थियो। गतवर्ष परशुराम नगरपालिकाले जिल्लास्तरीय रनिङ शिल्डको उपाधि जितेको थियो।

 

सम्बन्धित पाेष्टहरु
Loading...