डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटी डडेल्धुराले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ। फागुन १ गते देशैभर ‘जनयुद्ध दिवस’ मनाइन्छ।

२९औँ जनयुद्ध दिवसका अवसरमा मंगलबार बिहान जोगबुढा अस्पतालका ३० जना बिरामीलाई फलफूल वितरण गरिएको माओवादी परशुराम नगर कमिटी अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए।

उनका अनुसार दिवसकै अवसरमा साँझ नगरपालिकाका १२ वटै वडाका सदरमुकामर बजारमा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलन गरेर महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको नगर कमिटी अध्यक्ष डायमण्डले बताए।

दशवर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको उनको भनाइ छ।
देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँ–गाउँमा सिंहदरबारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको अध्यक्ष मालले बताए।
