काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भएको छ। बाँकी भागमा मौसम सफा रहनेछ।
बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ। शुक्रबारदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ।