डडेल्धुरा: पछिल्लो समयका चर्चित गायक चक्र बमले डडेल्धुरेली दर्शकलाई नचाएका छन्। अमरगढी नगरपालिका–४ टुँडिखेलमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैटौं डडेल्धुरा महोत्सवमा बमले दर्शकलाई नचाएका हुन्।
बुधबार डडेल्धुरा महोत्सवमा बम आउने खबर पाएसँगै दर्शकको घुइँचो लागेको थियो। कुनै पनि बिदा नभएपनि अरू दिनको तुलनामा दर्शकको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो। गायक बमको सांगीतिक प्रस्तुतिको पर्खाइमा थिए, डडेल्धुरेली दर्शक।
जब गायक बम स्टेज चढे। दर्शक/श्रोताले ताली बजाइ हाले। स्टेजमा चढ्नेबित्तिक्कै चक्रले सुरुमा आफ्ना चर्चित गीत सुनाइहाले, अंग्रेजी नबोल्दे…, लाल कुर्तीवाली तेरो नाम बताइदे…, कर्णाली कर्णाली तिर..’ केही समयअघि बजारमा आएका यी गीतहरूले चक्रलाई सफलताको शिखरमा पुर्याएको छ।
गायक बमले थारु र डोट्याली भाषाको राम, राम संघारी राम, राम, पहाडिया बिग्रियो जाँडको झोलमा, मुसुर्दानीलगायतका झण्डै दुई दर्जन गीत गाए। दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शकहरू। यसका साथै उनले महोत्सव हेर्न टुँडिखेल पुगेका दर्शकहरूलाई डेउडा पनि खेलाएका थिए।
डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।
बुधबार गायक बमसँगै गायिका इब्सल संज्याल तथा डान्सर सब्बु धामीले आफ्नो प्रस्तुति राखेका थिए। महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ।
विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ। फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म चल्ने छ।
हेर्नुस् बाँकी तस्वीरहरू :
तस्वीर : प्रकाश विसी