Radio Unity 92.2MHz

डडेल्धुराका यी चार ठाउँमा निःशुल्क परिवार नियोजन शिविर हुँदै

डडेल्धुरा: डडेल्धुराका चार ठाउँमा निःशुल्क परिवार नियोजन शिविर आयोजना हुने भएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो परिवार नेपालको सहकार्य र पालिकाहरूको समन्वयमा उक्त शिविर आयोजना गरिन लागिएको हो।

अनुभवी डाक्टरद्वारा परिवार नियोजनसम्बन्धी महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमा आएर सेवा लिन अनुरोधसमेत गरेको छ। नवदुर्गा स्वास्थय चौकी डाँडावनमा यही चैत ८ गते तथा नेपाल रेडक्रस भवन, तुफानडाँडामा चैत ९ र १० गते निःशुल्क परिवार नियोजन शिविर आयोजना हुनेछ।

यसैगरी जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल स्वास्थ्य चौकी गोदाममा यही चैत १२ र परशुराम नगरपालिका–१२ स्थित जोगबुडा अस्पतालमा चैत १३ गते शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। मिनील्याप गर्न आउने महिलाहरूले खाना, नास्ता केही नखाई भोको पेट र एकजना आफन्त साथमा लिएर आउन स्वास्थ्यकर्मीको सुझाव छ।

सम्बन्धित पाेष्टहरु
Loading...