डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको सामुदायिक रेडियो युनिटी ९२.२ मेघाहर्जले संस्कृति संरक्षण गर्न होली खेल्ने भएको छ।
रेडियो युनिटीले शुक्रबारदेखि चैत ११ गतेसम्म सन्देशमुलक होली खेल्ने भएको हो। होली पर्वको परम्परागत रौनक हराउँदै गएकाले त्यसको संरक्षण गर्ने उद्देश्यले रेडियोले होली कार्यक्रम आयोजना गरेको रेडियो सञ्चालक समिति अध्यक्ष मुकेश भट्टले बताए।
‘हिन्दुहरूको महान चाड पर्वको रूपमा मानिने होली तथा फाल्गुन पूर्णिमा आजकल यो पर्वको परम्परागत महत्त्व र रौनक हराउँदै जान थालेको छ,’ उनले भने, ‘यस पर्वको परम्परागत रौनक महत्त्व हराउँदै गएपछि यसको संरक्षणका लागि हामीले होली कार्यक्रम आयोजना गरेका छौँ।’
पछिल्लो समय होली पर्व मनाउने तरिकामा फरक पन आएकाले यसको मौलिकपन जोगाइ राख्न र युवाहरू सन्देश दिनका लागि रेडियोले होली खेल्न लागेको रेडियोका स्टेशन म्यानेजर उत्तर विष्टले बताए।
‘विगतका वर्षमा पनि रेडियो युनिटीले विभिन्न कार्यक्रम गर्दै आएको भएपनि केही वर्ष कोरोनाका कारण हामीले चाडपर्व विषेश कार्यक्रमहरू गरेका थिएनौँ,’ उनले भने, ‘यसवर्ष होलीको अवसरमा संस्कृति संरक्षण गर्न होलीको आयोजना गरेका हौँ।’ रेडियोले जिल्ला सदरमुकाम क्षेत्रमा होली खेल्ने स्टेशन म्यानेजर विष्टले बताए।