डडेल्धुरा: डडेल्धुरामा लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–४ तल्लो खलंगाका ४३ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
शुक्रबार दिउँसो साढे १ बजेतिर अमरगढी नगरपालिका–२ चालिसे मोड नजिकबाट गुरुङलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक करवीर सिंह ऐरले जानकारी दिए। उनको साथबाट ०.४९५ किलोग्राम चरेश बरामद गरिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाइकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाइछिपाइ राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाइकलसहित गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ऐरले बताए।
प्रहरीले गुरुङसँग सोधपुछ गर्दा बझाङको बित्थडचिर गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय गमीलाल बोहराबाट खरिद गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। बिक्री गर्ने बोहरालाई पनि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा गोदावरी बजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक ऐरले जानकारी दिए। उनका अनुसार पक्राउ परेका बोहरालाई शनिबार जिप्रका डडेल्धुरा ल्याई थप अनुसन्धान भइरहेको छ।