Radio Unity 92.2MHz

दुर्घटनामा घाइते भएका डडेल्धुराका बिक्कीको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा दुर्घटनामा परी घाइते भएका विक्रम ऐर ‘बिक्की’ को उपचारका क्रममा निधन भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थायी घर भई हाल अमरगढी नगरपालिका–५ विद्युत्रोड बस्ने २६ वर्षीय ऐरको निधन भएको हो।

गत चैत २० गते दिउँसो महेन्द्रनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको ट्रकले मोटरसाइकलमा पेट्रोल हाल्न अमरगढी–१ ढुनढुनेतर्फ जाँदै गरेका उनलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। तर, अस्पतालले अर्को दिन रेफर गरेपछि उनको उपचार हाल कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा चैत २१ गते उनको पहिलो चरणमा खुट्टाको शल्यक्रिया भएको थियो। त्यस्तै चैत २६ गते उनको हातको पनि शल्यक्रिया गरिएको थियो। दुई शल्यक्रियापछि विक्रम बाँच्ने आश पलाएपछि बुवा वीरबहादुर ऐरले आफ्ना देवताप्रति आभार प्रकट गर्दै फेसबुकमा पोष्ट शेयर गरेका थिए।

टाउकोमा रगत जमेका कारण अस्पतालमै ढलेका उनको निधन भएको छ। मायामेट्रोका चिकित्सकले टाउकोमा रगत जमेकै कारण विक्रमको मृत्यु भएको बताए। उनको शव पोष्टमार्टमपछि गृहजिल्ला डडेल्धुरा ल्याउने तयारी छ। विक्रमका बुवासहित घरमा आमा र एक दाई छन्। विक्रमका श्रीमती र एक छोरा पनि छन्।

सम्बन्धित पाेष्टहरु
Loading...