Radio Unity 92.2MHz

डडेल्धुरामा द्विजगंगा मेमोरियल टी–२० प्रतियोगिता वैशाख २८ गतेदेखि

डडेल्धुरा: डडेल्धुरामा दोस्रो संस्करणको जिल्लास्तरीय द्विजगंगा मेमोरियल पुरुष टी–२० क्रिकेट प्रतियोगिताको मिति तय भएको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय द्विजगंगा मेमोरियल टी–२० प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता यही वैशाख २८ गतेदेखि सुरु हुने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले जानकारी दिए। उनका अनुसार टिम दर्ता वैशाख २५ गते कार्यालय समयभित्र गरिसक्नुपर्ने छ। टिम दर्ता शुल्क १० हजार तोकिएको छ।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ। प्रतियोगिताको विजेता टिमले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने संघका सचिव रावलले बताए। उपविजेताले ५० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। गतवर्ष विजेता टिमले ५१ हजार १ सय ५१ र उपविजेताले २५ हजार ५ सय ५१ रुयैयाँ पुरस्कार पाएका थिए।

खेलको ‘म्यान अफ द म्याच’लाई एक हजार र ‘म्यान अफ द सिरिज’लाई पाँच हजार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुने सबै खेलाडी डडेल्धुरा जिल्लाको मात्र हुनुपर्नेछ वा डडेल्धुराबाट प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको खेल खेलिसकेको हुनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू आईसीसीको मापदण्डअनुसार खेलाइनेछ।

उक्त प्रतियोगिताबाट यू–१९ लागि टिम छनोट गरिने आयोजकले जनाएको छ। १९ वर्षमुनिका खेलाडीले आफ्नो डकुमेन्ट सक्कल नै आयोजकलाई बुझाउनुपर्ने संघका सचिव रावलले जानकारी दिए। प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा हुनेछन्।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि परशुराम नगरपालिकाले जितेको थियो। फाइनलमा आलिताल गाउँपालिकालाई ७ विकेटले हराउँदै परशुरामले उपाधि उचालेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...