डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले कसैलाई पनि काखापाखा नगरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा हालै सुरुवा भएर आएका सिडिओ न्यौपानेले कसैलाई पनि काखापाखा नगरी तटस्थ भएर काम गर्ने बताएका हुन्। कसैको दबाब र प्रभावमा नपरी सेवा प्रवाह पर्ने उनले बताए।
सिडिओ न्यौपानेले जिल्लास्थित सरकारी कार्यालयमा सुशासन कायम गर्ने र कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउनमा आफू लाग्ने बताए। जिल्लाको शान्ति सुरक्षा कायम गराउनमा पनि आफ्नो योजना रहेको उनको भनाइ थियो। जिल्लामा आत्महत्याका घटना बढेको देखिएको र त्यसको न्यूनीकरणका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताए।
‘सडक दुर्घटना न्यूनीकरण गर्न योजना बनाएर काम गर्नेछु। बजार अनुगमनलाई पनि प्रभावकारी बनाउने छौँ,’ सिडिओ न्यौपानेले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्नेछु।’
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लामा आत्महत्या र बलात्कारका घटना बढिरहेको र ती घटनाहरू न्यूनीकरण गर्नमा प्रहरीप्रशासन चनाखो भएर लाग्नुपर्ने सुझाव दिए। उनले प्रहरीप्रशासनलाई पत्रकारहरू आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको पनि बताए।
पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले मिडियासँगको समन्वय थप प्रभावकारी बनाउन सिडिओ न्यौपानेलाई आग्रह गरे। सूचना लुकाउने प्रवृत्ति अझै पनि कायमै रहेको उल्लेख गर्दै उनले पत्रकार तथा आमनागरिकलाई सूचनाहरू सहज रूपमा प्रदान गरिदिन अनुरोध गरे। केन्द्रीय सदस्य विष्टले जिल्लामा लागुऔषध दुर्व्यसन प्रयोगकर्ता बढिरहेकाले प्रहरीप्रशासनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए।
सिडिओ न्यौपानेले आफू र जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई सूचनामैत्री बनाउने प्रतिबद्धता जनाए। प्रजिअ अञ्जन न्यौपानेको ठाउँमा गृह मन्त्रालयले यहाँको नयाँ सिडिओको रूपमा चोमेन्द्रलाई खटाइएको हो।