डडेल्धुराः सुदूूपश्चिम सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राष्ट्रिय विकास परिषद्को बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन्। बिहीबार बैठकमा मुख्यमन्त्री सोडारीले सुदूरपश्चिम पचासको दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वी नेपालसँग जोडिएको स्मरण गराए।
उनले भने, ‘त्यसअघिका दिनमा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो। त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भएपनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ।’
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री सोडारीले थपे, ‘सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ। सो सडक बनेपछि तिब्वतसँग सुदूरपश्चिमको पहुँच पुग्ने छ।’
सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि नेपाली मात्र होइन भारतीय पर्यटकलाई समेत सजिलो हुने उनको भनाइ थियो। ‘सुदूरपश्चिमका धेरै नागरिक अहिले पनि सस्तो ज्यालामा भारतमा काम गरिरहेका छन्। त्यसैले सुदूरपश्चिममा औद्योगिकरण गरेर नेपालीहरुलाई नेपालमै रोजगार दिने वातावरण बनाउनुपर्छ,’ मुख्यमन्त्री सोडारीले भने, ‘त्यसका लागि ठूला उद्योग, कलकारखाना र पाँच तारे स्तरका होटल निर्माण र सञ्चालनमा व्यवसायीलाई आकर्षित गर्ने नीति नियम बनाउन आवश्यक छ । सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी छ।’
ठूला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि विभेद गरेको उनले बताए। सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा विकास बढी केन्द्रीत हुँदा पहाडीका बस्ती खाली भएको उनले बैठकमा सुनाए।
‘जनसंख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाइँसराइँ रोकिन सक्छ। त्यसका लागि पनि नीति नियम आवश्यक छ। खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाललगायत धार्मिक र पर्यटकीय क्षेत्र हुन्। ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काम गर्नुपर्छ,’ मुख्यमन्त्री सोडारीले भने, ‘खप्तडदेखि रारासम्मको राष्ट्रिय पदमार्गलाई अघि बढाउन पनि जरुरी छ। कर्णली, सेती, महाकालीको पानी खेर गयो।’
उनले सुदूरपश्चिमलाई सूचना प्रविधि क्षेत्रको हब बनाउनुपर्नेमा जोड दिए। त्यसो हुँदा सूचना प्रविधि पढ्नका लागि भारत र नेपालका विभिन्न शहरमा गएर महँगोमा पढ्नुपर्ने बाध्यता अन्त्य हुने उनले विश्वास व्यक्त गरे।
सुदूरपश्चिममा कर्णाली, सेती नदीबाट बिजुली उत्पादन गर्ने वातावरण बनाउन संघीय सरकारले विशेष पहल थाल्नुपर्नेमा मुख्यमन्त्री सोडारीको जोड थियो। उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्लीलगायतका शहरसंग जोड्नुपर्ने बताए।
मुख्यमन्त्री प्रधानमन्त्री प्रचण्डलाई इंगित गदै भने– ‘अहिले पनि ठूला अस्पताल नहुँदा बिमारी भारत र काठमाडौं लैजानु पर्ने बाध्यता छ, त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ। त्यसका लागि गेटको दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउन आवश्यक कानुन बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ।’
यस्तै अर्को प्रसंगमा मुख्यमन्त्री सोडारीले प्रहरी समायोजन गर्नुपर्ने बताए। उनले भने, ‘संघीयताको जननी तपाईं प्रम प्रचण्ड हो। तपाईंकै नेतृत्वमा संघीयता कार्यान्वयन गर्नुपर्यो। शिक्षामा पालिकाले एकल अधिकार पाएका छैनन्। प्रदेशले राष्ट्रिय वनको एकल अधिकार प्रयोग गर्न पाएको छैन।’