Radio Unity 92.2MHz

एक गाउँ, एक कृषि/पशु प्राविधिक : शिखरमा पूर्ण पारिश्रमिक नपाएको गुनासो

डडेल्धुरा: ‘एक गाउँ, एक कृषि/पशु प्राविधिकअन्तर्गत करारमा भर्ना भई खटिएका कृषि प्राविधिकहरूले तोकेअनुसारको पूर्ण पारिश्रमिक नपाएको गुनासो गरेका छन्। डोटीको शिखर नगरपालिकामा कार्यरत ओभिओटी (कृषि प्राविधिक) हरूले सो गुनासो गरेका हुन्।

नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समिति डोटीले सोमबार एक विज्ञप्ति जारी गर्दै शिखर नगरपालिकामा कार्यरत ओभिओटी (कृषि प्राविधिक) हरूमाथि भएको अन्यायपूर्ण व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘एक गाविस एक कृषि/पशु प्राविधिक निर्देशिका २०७३’ बमोजिम देशका विभिन्न साविकका गाविस तथा हालका स्थानीय तहमा कृषि र पशु तर्फका प्राविधिकहरु खटिई काम गर्दै आइरहेका छन्। तत्कालीन जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु विकास कार्यालय मार्फत लोकसेवा आयोगका सम्पूर्ण प्रक्रिया पूरा गरी नियुक्त भई कामकाज गर्दै आएकोमा मिति २०७५/०४/३० गते चलानी न ४१० को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंको परिपत्रअनुसार सम्बन्धित स्थानीय तहबाट नै सेवा प्रदान गर्दै आइरहेका छन्।

उपाध्यक्ष सुरेन्द्रबहादुर भुलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार (सचिवस्तरको मिति २०७७/०२/२० को आधा बजेट स्थानीय तह र आधा बजेट कृषि तथा पशुपंछी विकास मन्त्रालयले व्यवस्थापन गर्ने भन्ने निर्णयअनुसार आव २०७७/०७/८ देखि ५० प्रतिशत रकम मन्त्रालयले व्यवस्थापन गर्दै आएकोमा शिखर नगरपालिकाले पशुतर्फका ओभिओटी कर्मचारीलाई निरन्तर नेपाल सरकारको राप अनंकित द्धितिय श्रेणीको सुरु तलबसहितको सुविधा व्यवस्थापन गर्दै आएको तर कृषितर्फका ओभिओटी कर्मचारीलाई खाईपाई आएको तलबसमेत घटाई नगरपालिकाको कार्यालयले गम्भीर अन्यायसहितको त्रुटि गरेको छ।’

सो विषयमा आफूहरू पटक–पटक लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा कुनै पनि सुनुवाई नभएको उपाध्यक्ष भुलले बताए। भुल शिखर नगरपालिकामा कार्यरत ओभिओटी कृषि प्राविधिक हुन्।

‘एउटै श्रेणी, एउटै तह, एउटै नियुक्ति प्रक्रिया, एउटै श्रोत हुँदासमेत किन यस्तो गरियो भनेर कार्यालयसँग बुझ्दा पशु प्राविधिकको स्थायी रिक्त दरबन्दीबाट पशुतर्फका ओभिओटी कर्मचारीको तलब व्यवस्थापन गरिएको छ भन्ने आर्थिक प्रशासन शाखाका प्रमुखले जवाफ दिनुभयो,’ भुलले भने, ‘नगरपालिकाको आन्तरिक श्रोतबाट तलबको पूर्ण व्यवस्थापन गरिएको छ भन्ने सूचना अधिकारीको जवाफ एकआपसमा बाँझिएको देखिन्छ।’

उनले विज्ञप्तिमार्फत् पशु र कृषि तर्फका ओभिओटी कर्मचारीको समान पारिश्रमिकको व्यवस्थापनका लागि जोडदार माग गरेका छन्।

यस विषयमा शिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र शाहले कार्यपालिकाको निर्णयअनुसार कृषि तर्फका ओभिओटी कर्मचारीले पारिश्रमिक पाइरहेको बताए। ‘२०७६/७७ तिर कार्यपालिकाले निर्णय गरेर उहाँहरूको नाम तोकेरै यति तलब दिने भनेर तोकेको छ। म यहाँ आइसकेपछि मैले त्यसलाई न घटाएको छु न बढाएको नै छु,’ उनले युनिटीखबरसँग भने, ‘कार्यपालिकाको निर्णयलाई मैले हस्तक्षेप गर्न मिल्दैन। उहाँहरूले कार्यपालिकाबाट निर्णय परिर्वतन गराएर ल्याउनुहुन्छ भने प्रशासनिक रूपमा हामीलाई कुनै आपत्ति छैन।’

त्यतिबेला कृषि तर्फका ओभिओटी कर्मचारीको कार्यदक्षताको कमिका कारणले पनि कार्यपालिकाले उक्त निर्णय गरेको हुनसक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताए। ‘एक गाउँ, एक कृषि/पशु प्राविधिकअन्तर्गत नगरपालिकामा ६ जना कार्यरत छन्। जसमा तीन कृषि र तीन पशु सहायक स्तर चौथो प्राविधिक छन्।

हेर्नुस् प्रेस विज्ञप्ति :

सम्बन्धित पाेष्टहरु
Loading...