Radio Unity 92.2MHz

बालकल्याण मावि पुइलेकको सार्वजनिक सुनुवाइ सम्पन्न

डडेल्धुराः अजयमेरु गाउपालिका–१ स्थित बालकल्याण माध्यमिक विद्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार विद्यालयले भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षका कार्यहरू तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउँदको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्यालय गुणस्तर सुधार परियोजना कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/०८० को खर्च विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक धनबहादुर पार्कीले प्रतिवेदनमा उल्लेख विवरण सार्वजनिक गर्दै विद्यालय भवन १०, स्टाफ तथा प्रशासनिक कोठा ३, कक्षा कोठा १६ ,फर्निचर १०४ सेट, शौचालय ५, विद्यालय छात्रावास १, खानेपानी धारा ३, खेलकुद मैदान १, विज्ञान प्रयोगशाला १, पुस्तकालय कोठा २ रहेको जानकारी गराए।

यसका साथै विद्यालय सुधार नीतिअन्तर्गत १४ वटा समिति गठन गरिएको उनले बताए। जसअन्तर्गत परीक्षा तथा मूल्यांकन समिति, खेलकुद समिति, वातावरण तथा फुलबारी समिति, खरिद उपसमिति, खानेपानी तथा सरसफाइ समिति, अतिरिक्त क्रियाकलाप समिति, तथ्यांक व्यवस्थापन समिति, विद्यार्थी परामर्श तथा सल्लाह सेवा समिति, जुरेस/युरेस व्यवस्थापन समिति, विपद् व्यवस्थापन, विद्यालय समुदाय सम्बन्ध सुधार, गुनासो सुनवाइ समिति अतिरिक्त कक्षा व्यवस्थापन समिति गठन गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउँदले वार्षिक कार्ययोजना बनाएर सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारी, अन्य जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...