डडेल्धुरा: डडेल्धुरामा अज्ञात रोगका कारण बाख्रा मर्न थालेका छन्। बुधबार जिल्लाको भागेश्वर गाउँपालिका–४ ढिमौलाका भीम सार्कीका ११ बाख्रा अज्ञात रोगले मरेका हुन्।
एकैपटक ११ बाख्रा मरेपछि सार्कीले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ। अज्ञात रोगकका कारण सार्कीले पालेका ११ बाख्रा मरेको भागेश्वर गाउँपालिकाका पशु शाखा प्रमुख मोहन सार्कीले जानकारी दिए।
बाख्राहरूमा काँप्ने, झोक्राउने, आन्द्रा सुन्निएको देखिने, खाना नखानेजस्ता लक्षण देखिएको उनले बताए। उनका अनुसार बाख्रामा देखिएको रोग पत्ता लगाउनका लागि बिहीबार नमूना संकलन गरेर धनगढी पठाइएको छ।
जिल्लामा रोगको पहिचान हुन नसकेपछि नमूना धनगढी लगिएको हो। अज्ञात रोगले बाख्राहरू मर्न थालेपछि पालिकाका अन्य बाख्रा पालक किसानहरू पनि चिन्तित बनेका छन्।