डडेल्धुरा: व्यावसायिक वातावरण सर्वेक्षण (बीसीएस)मा डडेल्धुराको अमरगढी नगरपालिका दोस्रो भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ वटा स्थानीय तहमा सर्वेक्षण गरिएको व्यावसायिक वातावरण सूचाकांक २०२४ को श्रेणीका आधारमा अमरगढी दोस्रो भएको हो।
मंगलबार जिल्ला सदरमुकाममा आयोजित ‘व्यावसायिक वातावरण सर्वेक्षण २०२४ को नतिजामा आधारित नतिजा सार्वजनिकिकरण’ कार्यक्रममा सो जानकारी दिइएको हो।
ग्रेप परियोजनाद्वारा गरिएको सर्वेक्षणमा ५५ अंक प्राप्त गरी अमरगढी दोस्रो भएको परियोजनाकी सल्लाहकार पूर्णकला राईले जानकारी दिइन्। नगरपालिकामा स्थानीय आर्थिक कार्यसम्पादन, आर्थिक सुशासन, पूर्वधार, व्यावसायिक भावना, व्यावसायिक गतिशिलता, व्यवसायका सेवा, दिगोपना, जलवायुमैत्री वातावातरणलगायतका उपसूचाकांकहरूको सर्वेक्षण गरिएको थियो । व्यावसायिक वातावरण सर्वेक्षणमा पहिलो भने हुम्लाको सिमकोट गाउँपालिका भएको छ।
ग्रेप परियोजनाअन्तर्गत अमरगढी नगरपालिकामा विभिन्न तरकारिका बीउ, जैविक विषादी, झोलमल ड्रम सेट, पोलिहाउस, मिनि टिलरलगायतका सामग्री वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारीले बताए।
नतिजा सार्वजनिकिकरण कार्यक्रममा नगर उपप्रमुख पार्वती झुकालले परियोजनाले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरिन्। उनले परियोजनाले गरेका कामबाट यहाँका किसानहरू पनि खुसी भएको बताइन्। उनले तरकारी खेती वा अन्य खेती गर्दा माटो परीक्षण गरेर मात्रै गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा उपप्रमुख झुकालसँगै निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्तराज पन्त, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, किसान, कृषि प्राविधिक, व्यावसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।