डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयले ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। चार दिनसम्म विभन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको हो।
सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका अमरगढी नगरपालिका–५ का अध्यक्ष टंकबहादुर क्षेत्रीको सभापतित्वमा कार्यक्रम भएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ६ वटा ब्लकमा जम्मा ३० वटा कोठा तथा जस्तापाताबाट बनाइएका दुई वटा कोठाहरु गरी जम्मा ३२ कोठा रहेको प्रतिवेदनमा उल्लेख छ। विद्यालयको नाममा ३० रोपनी जग्गा रहेको प्रअ ऐरले जानकारी दिए। उनका अनुसार हाल विद्यालयमा एक हजार ४३७ जना विद्यार्थी भर्ना भएका छन्। जसमा छात्र ८५५ जना र छात्रा ५८२ जना रहेका छन् ।
विद्यालयमा ४७ जना शिक्षक–कर्मचारी कार्यरत रहेको प्रअ ऐरले बताए। उनले विद्यालयको आर्थिक गतिविधिलाई व्यवस्थित र पारदर्शी ढंगबाट सञ्चालन गर्नका लागि आर्थिक कार्यविधिको प्रयोगलाई निरन्तर प्रयोगमा ल्याइएको बताए।
विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा सुधार आएको तर विद्यार्थी संख्याको अनुपातमा कक्षाकोठा, प्रयोगशाला र अन्य भौतिक पूर्वाधारको कमी तथा विषयगत शिक्षकको अभावका कारण शैक्षिक उपलब्धि र गुणस्तर सुधारमा चुनौती थपिएको प्रअ ऐरको भनाइ छ।
कार्यक्रममा गत आव २०७९÷०८० तथा चालु आव २०८०/०८१ को आयव्यय विवरण पनि प्रस्तुत गरिएको छ। गत आव २०७९÷०८० मा विद्यालयको कूल आय ४ करोड ७८ लाख ५ हजार २२५ रुयैयाँ र व्यय पनि ४ करोड ७८ लाख ५ हजार २२५ रुयैयाँ रहेको छ। चालु आव २०८० साउनदेखि २०८१ वैशाख मसान्तसम्म ४ करोड ८० हजार ९७२ रुपैयाँ आय र सोही रकम बराबर व्यय भएको प्रतिवेदनमा उल्लेख छ।
विद्यालयले आगामी आव २०८१/०८२ को अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ। जसमा आय ४ करोड २ लाख ४५ हजार १८२ रुपैयाँ र व्यय ३ करोड ५६ लाख ८८ हजार ४४० रुपैयाँ हुने अनुमान छ। ‘संस्कारसहितको गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पठनपाठनलाई अझ समय सान्र्दभिक, संस्कारयुक्त, व्यवहारिक र दिगो बनाउने कार्यलाई निरन्तरता दिइने विद्यालयका प्रअ ऐरले बताए।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य सरस्वती खड्काले विद्यालयप्रति विद्यार्थीको आकर्षक निकै बनेको देख्दा खुसी लागेको बताइन्। ‘महेन्द्र मावि निकै अगाडि बढिसकेको छ। संस्थागत स्कुलसँग प्रतिस्पर्धा गरिरहेको छ,’ उनले भनिन्, ‘तीनै सरकारले यस विद्यालयलाई सहयोग गर्नुपर्ने हुन्छ। महेन्द्र माविले डडेल्धुराको छुट्टै पहिचान दिन सफल भएको छ।’
उनले अन्य सामुदायिक विद्यालयले महेन्द्र माविका सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्नेमा जोड दिइन्। उनले विद्यालयलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्ध जनाइन्। सांसद खड्काले सबैले मिलेर विद्यालयलाई सहयोग गर्नुपर्नेमा बताइन्। शिक्षा क्षेत्रमा हुने राजनीतिलाई अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद र साँस्कृति कार्यक्रम पनि आयोजना गरिएको थियो। विद्यालयका उत्कृष्ट विद्यार्थी, खेलाडी, अभिभावक, विद्यार्थी र विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो। महेन्द्र मावि २०१४ सालमा स्थापना भएको थियो।