Radio Unity 92.2MHz

महादेव माविद्वारा राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान

डडेल्धुरा: कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न नवौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा पदक जित्ने खेलाडीहरूलाई सम्मान गरिएको छ।

प्रतियोगितामा महादेव मावि आलिताल गाउँपालिका–७ खिन्नेभाडीबाट सहभागी भएर दुई स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल विद्यार्थीलाई विद्यालयले शुक्रबार सम्मान गरेको हो।

स्वर्ण पदक जित्ने उमेश बोहरा र चन्द्रा भाट, रजत जित्ने मोहना खड्का तथा कास्य पदक जित्ने भागरथी खड्का र विमला डाँगीलाई सम्मान गरिएको विद्यालयका शिक्षक एवं सूचना अधिकारी रमेश बोहराले जानकारी दिए। उनीहरूलाई खाँदा र अविर लगाएर विद्यालयमा सम्मान गरिएको हो।

उमेश बोहरा प्रतियोगिताकै वेस्ट प्लेयर चुनिएका थिए। राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरूले गरेको प्रदर्शनले सिंगो विद्यालय परिवारलाई नै गर्व महसुस गराएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर पार्कीले बताए। विद्यालयका खेलाडीहरूलाई विद्यालयबाट निरन्तर सहयोग रहने उनले बताए।

उक्त कार्यक्रममा खेलाडीहरूलाई यो स्थानसम्म पुगाउन अहोरात्र खाटिने खेल प्रशिक्षक गौरी हमालाई पनि सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर धामीले जानकारी दिए।

नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली खेलकुद परिषद्को स्वीकृतिमा आइतबारदेखि सुर्खेतमा सुरु भएको नवौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप मंगलबार सम्पन्न भएको थियो। प्रतियोगितामा ५२ जिल्लाका खेलाडीको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...