Radio Unity 92.2MHz

डडेल्धुराको महेन्द्र माविले विज्ञान र आमसञ्चार विषय पनि पढाउने

डडेल्धुरा: डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय खलंगाले विज्ञान संकाय र आमसञ्चार विषय पनि पढाउने भएको छ। शुक्रबार विद्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो बारेमा जानकारी दिएको हो।

कक्षा ११ र १२ मा यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनका साथ विज्ञान तथा आम सञ्चार विषयको समेत पठनपाठन सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले जानकारी दिए।

उनका अनुसार दुवै विषयको पढाई सुरु गर्नका लागि विद्यालय विकास योजना पनि निर्माण गरिएको छ। विज्ञान विषय प्रवर्द्धनका लागि ८० लाख बजेट विनियोजन गरिएको प्रअ ऐरले जानकारी दिए।

‘८० लाखमध्ये छात्रवृत्तिका लागि मात्रै १२ लाख छुट्याएका छौं,’ उनले भने, ‘एक विद्यार्थीलाई ५० हजारसम्म छात्रवृत्ति दिने हाम्रो योजना छ। कक्षाकोठा र ल्याबका लागि २६ लाख तथा साढे २२ लाख तलब भत्ताका लागि विनियोेजन गरेका छौं।’

प्रत्येक विद्यार्थीको शैक्षिक उत्कृष्टता सुनिश्चत हुने गरी विद्यालयमा सिकाइको वातावरणलाई मजबुत बनाउन शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सम्बन्धित सबै सरोकारवालाहरूसँगको सहकार्य तथा साझेदारीमा वृद्धि गर्ने प्रयास भइरहेको प्रअ ऐरले बताए।

२००४ सालमा खोलिएको आधार पाठशालाको जगमा ०१४ सालमा मिडिल स्कुलको रुपमा महेन्द्र माविको स्थापना भएको थियो। पछिल्लो समय महेन्द्र मावि जिल्लाकै अब्बल शैक्षिक संस्थाका रूपमा परिचित छ। विद्यालयमा हाल एक हजार ४४४ जना विद्यार्थी अध्ययनरत छन्।

सम्बन्धित पाेष्टहरु
Loading...