- टीकाराम साउँद
डडेल्धुरा: डडेल्धुरामा पनि शनिबार २१औं राष्ट्रिय धान दिवस मनाइएको छ। ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

कृषि ज्ञान केन्द्र र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर डडेल्धुराको संयुक्त आयोजनामा गन्यापधुरा गाउँपालिका–३ सकायलमा धान दिवस मनाएको हो।

कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांकअनुसार जिल्लामा हालसम्म २० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरूले जानकारी दिए।
अरु वर्ष अहिलेसम्म ७५ प्रतिशात रोपाइँ सकिने बेलामा यो वर्ष समयमा पानी नपर्दा धेरै जसो ठाँउमा रोपाइँ हुन नसकेको र अहिलेसम्म २० प्रतिशात मात्रै रोपाइँ भएको उनले बताए। जिल्लाका सातवटै स्थानीय तहलका कृषि शाखाले पनि धान दिवास मनाएका छन्।

नेपाली समजमा असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार पन्ध्र मनाएका छन्।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।