डडेल्धुरा: पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा डडेल्धुराका लालबहादुर खत्री प्रथम भएका छन्।
आलिताल गाउँपालिका–६ झरकाँडाका खत्री शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा/पुड्का पुरुष २ सय मिटर दौडमा प्रथम भएका हुन्। उनले ४३.८३ सेकेन्डमा दौड सकाए।
खुर्शेद मन्सुर द्वितीय तथा राजदीप थापा क्षेत्री तृतीय स्थानमा रहे। सो स्पर्धाको पुरुष एक सय मिटर दौडमा भने खुर्शेदले बाजी मारे। उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा तय गर्दै पहिलो भए। २ सय मिटर दौडमा पहिलो भएका लालबहादुरले एक सय मिटरमा भने दोस्रो स्थानमा चित्त बुझाउँदा मानबहादुर नेवार तेस्रो भए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा प्रतियोगिताको भएको हो। एकदिने प्रतियोगितामा ८० खेलाडीले २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।