डडेल्धुरा: डडेल्धुरामा सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवनको न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य निर्देशनालय दिपालय डोटीको आयोजना तथा अमरगढी नगरपालिकाको प्राविधिक सहयोगमा शनिबार नगरपालिकामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर ऐरले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बारे सहभागीहरूलाई जानकारी गराएका थिए।
सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन बनेपनि त्यसको पूर्ण कार्यान्वयन नभएको कार्यक्रमका सहभागीहरूको भनाइ थियो। सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने मृत्यु र आर्थिक नोक्सानी रोक्न सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेका नियमावली र निर्देशिकाको पालना गर्नुपर्ने सरोकारवालाले बताएका छन्। सूर्र्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नु पर्दछ।
कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई सूर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने ऐनमा उल्लेख छ। ऐनमा सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने व्यवस्था गरेको छ।
यसका साथै एनेले राज्यका निकाय, स्वास्थ्य संस्था, शिक्षण संस्था, विमान तथा विमानस्थल, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेष्टुरेण्ट, चलचित्र, नाट्यशाला, खेलकुद क्षेत्र, डिपार्टमेन्ट स्टोर, मिनी मार्केक र धार्मिकस्थल, टिकट काउन्टरजस्ता धेरै मानिसहरू कार्य गर्ने जम्मा हुने कुनै पनि सार्वजनिक स्थलहरूमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाईने व्यवस्था गरेको छ। तर डडेल्धुरामा त्यसको कार्यान्वयन भने हुन सकेको छैन। जिल्लामा विद्यालय नजिकैका पसलहरूमा खुलेआम रूपमा सूर्तिजन्य पदार्थ बिक्रीवितरण भइरहेको छ।
सार्वजनिक स्थलमा धुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्नलाई एक सय रुपैयाँ जरिवाना वा कार्यलयको हाताबाट निष्कासन वा दुवै गर्न सकिने व्यवस्था छ। कुनै पनि सञ्चार माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचना सम्प्रेषण वा प्रायोजन गरे १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ।
१८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरे, वा निःशुल्क उपलब्ध गराएमा, सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गरेमा, फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री गरेमा तथा निःशुल्क रूपमा सूर्तिजन्य पदार्थ वितरण गरे वा उपहार दिएमा प्रत्येक गल्ती कार्यको रु १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।
कार्यालय र सार्वजनिक स्थलमा सरोकारवाला आफैंले धुम्रपान तथा सूर्ति सेवन निषेधको सूचना टाँस गर्नुपर्नेछ यदि नगरेमा ५ हजार रुपैया जरिवाना लाग्छ। सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य गरिएको छ यदि इजाजत पत्र नलिई बिक्री गरे १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।