डडेल्धुरा: नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउन घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानको लक्ष्य डडेल्धुरामा पूरा हुने सम्भावना देखिएको छैन। स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा जिल्लामा घरमै ९० जना सुत्केरी भएको पाइएको छ।
७ वटा स्थानीय तह रहेको जिल्लामा अजयेमरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकाबाहेक चार स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ। सबैभन्दा बढी जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकामा ४२ जना महिला घरमै सुत्केरी भएका छन्। मंगलबार स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको ‘पत्रकारसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।
आलिताल गाउँपालिकामा ३५, भागेश्वर गाउँपालिकामा ११ र जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा २ महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए।
जिल्लामा नवजात शिशु मृत्युको संख्या १३ जना रहेको छ। जसमा परशुराम नगरपालिकामा ६, अजयमेरु गाउँपालिकामा ३, अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकामा २/२ जना रहेको जनस्वास्थ्य अधिकृत साउँदले बताए।
जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ। स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठसम्म डडेल्धुरामा मातृ मृत्युको संख्या ४१ जना रहेको छ।
जिल्लाका स्थानीय तहमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी अपुग रहेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्लाका सातवटा स्थानीय तहमा स्वास्थ्य सेवामा मात्रै स्वीकृत दरबन्दी संख्या १ सय ५६ जना रहेको छ। जसमा १ सय ३० जना कार्यरत रहेका छन्। जिल्लामा स्वीकृत दरबन्दीमध्ये २६ जनाको पदपूर्ति हुन सकेको छैन। दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएपछि यहाँका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा करारबाट कर्मचारी भर्ना गरेका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लामा सञ्चालित मेडिकल तथा फार्मेसीहरूमा कडाइका साथ अनुगमन गर्नुपर्ने बताए। सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधि ग्रामीण क्षेत्रमा पर्याप्त उपलब्धता नरहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि ध्यान दिन स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराए।
स्वास्थ्य कार्यालयका प्रमुख साउँदले आधारभूत स्वास्थ्य सुदृढीकरणमा आफूले जनशक्तिले भ्याएसम्म काम गरिरहेको बताए।
उनले चालु आर्थिक वर्षमा कार्यालयले भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशत बढी गरेका जानकारी दिए। आगामी दिनमा मेडिकल तथा फार्मेसीहरूको अनुगमनलाई तीव्रता दिइने प्रतिबद्धता जनाए।