Radio Unity 92.2MHz

डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

डडेल्धुरा: डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन्।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए।

नेपालमा सरकारले १३ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउने उनले बताए। यी अधिकांश खोप शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ । डडेल्धुरालाई पहिलोपटक २०७२ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो।

डडेल्धुरा जिल्लामा हाल १०६ वटा खोप केन्द्रबाट प्रत्येक महिना २ गतेदेखि ८ गतेसम्म नियमित खोप सेवा प्रवाह हुँदै आइरहेको जनस्वास्थ्य अधिकृत साउँदले बताए। उनका अनुसार जिल्लामा जन्मिएदेखि १५ महिनाका २ हजार ६ सय १ र १६ देखि ५९ महिनाका बालबालिकाको संख्या ८ हजार ९२ रहेको छ।

जिल्लामा खोप छुटेका सबै बालबालिकाहरूलाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप लगाई वैशाख महिनालाई खोप महिनाको रूपमा मनाइएको थियो।

खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, रुग्णता दर घटाउन र अपांगता हुनबाट जोगाउन सफल भएको दाबी गरिएको छ। स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जनस्वास्थ्य अधिकृत धीरेन्द्र नाथले जिल्लालाई पूर्ण खोप सुनिश्चितता गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले बालबालिकाका लागि खोप उपयुक्त रहेकोले अनिवार्य खोप लगाउनुपर्ने बताए।

कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा महिला स्वमंसेविकाको भूमिका अहम् रहेको बताए। उनले सबै बालबालिकालाई खोपको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले स्वास्थ्य क्षेत्रमा विभिन्न चुनौती थपिएको बताए। उनले ग्रामीण भेगमा रहेका बर्थिङ सेन्टर व्यवस्थित नहुन नसकेको औंल्याए। घामपानी नभनेर सेवामा खटिने स्वास्थ्यकर्मीले पाउने भत्ता माथिबाटै कटौती हुँदै आएकोमा दुःख व्यक्त गरे । उनले प्रदेश सरकारले औषधि पठाउँदा समयमै पठाउनुपर्ने बताए।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य सरस्वती खड्काले महिला स्वास्थ्य स्वयंसेविकाहरूले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको बताइन्। उनले स्वास्थ्य क्षेत्र संवेदनशील भएपनि बजेट कम विनियोजना हुने गरेको बताइन् । उनले आएको बजेटलाई सही ढंगबाट खर्च गर्नुपर्नेमा जोड दिइन्।

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले खोप पाउनु बालबालिका नैसर्गिक अधिकार भएको बताए। स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा राम्रो गरेको भन्दै उनले प्रशंसा गरे। खोप कार्ड सुरक्षित राख्न अभिभावकलाई सचेत गराउनुपर्ने उनको भनाइ छ। खोपको प्रभावकारिता सबैलाई बुझाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट खोपकर्ता र स्थानीय तहलाई दोसल्ला ओडाएर प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

  

 

सम्बन्धित पाेष्टहरु
Loading...