- प्रकाश पार्की
डडेल्धुरा: डडेल्धुरामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा सोमबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले बताए।
अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको उनको भनाइ छ। उनकाअनुसार डडेल्धुरामा हाल पाँच जना डेंगु संक्रमित बिरामी रहेका छन्। जसमा अमरगढी नगरपालिकाका चार र नवदुर्गा गाउँपालिकाका एकजना छन् ।
डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानीजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको प्रमुख साउँदले बताए।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।
देशव्यापी रूपमा फैलिरहेको डेंगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टे टोकाइबाट बच्न सबैले सचेत रहनुपर्ने उनको भनाइ छ। डेंगु लाग्न नदिनका लागि आफूले बस्ने बासस्थान वरिपरी सरसफाई गर्नुका साथै यसका लक्षण देखा पर्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जान उनले सुझाव दिए।
उनका अनुसार ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरू देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाकरबान्ता हुनेजस्ता लक्षणहरू डेंगी संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले डेंगु ज्वरो रोकथाम तथा नियन्त्रण अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए।
डेंगु संक्रमणबाट बच्न झूलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, पानी जम्ने खालड़ा खुल्ड़ी पुर्ने, घर वरिपरी पानी जामा हुनसक्ने टायरहरू नराख्ने तथा लामखुट्टेको टोकाइबाट जोगिनु नै यसबाट बच्ने उपाय भएको भेक्टर कन्ट्रोल सुपरभाइजर भट्टले जानकारी दिए।
उनका अनुसार पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न दिनु हुँदैन। पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्ने उनले बताए।
‘लार्भा खोज र नष्ट गर’ अभियानमा प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमंसेविका, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायतको सहभागिता रहेको थियो।
हेर्नुहोस् ‘लार्भा खोज र नष्ट गर’ अभियानका थप तस्वीर–