डडेल्धुरा: सामुदायिक विद्यालयमा अहिले विद्यार्थी पाउन मुस्किल नै छ। झन् सुदूरपश्चिमका पहाडी जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११–१२ मा विद्यार्थीको अभाव छ। तर, केही सामुदायिक विद्यालय यस्ता पनि छन्, विद्यालयमा अध्ययनका लागि परीक्षा नै लिनुपर्ने अवस्था छ।
यसैको एक उदाहरण हो, डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयल खलंगा। जहाँ विद्यार्थीको उच्च चप छ। यस वर्षबाट कक्षा ११ मा पहिलोपटक विज्ञान विषय पढाउन सुरु गरेपछि भर्ना हुने विद्यार्थीको चाप झनै बढेको हो।
विद्यालयले शनिबार विज्ञान विषयका लागि प्रवेश परीक्षा लिएको छ। विद्यालयले अपेक्षा गरेभन्दा बढी विद्यार्थीहरूले आवेदन दिएका थिए। महेन्द्र माविले प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गरेको हो।
विज्ञान विषयका लागि ५६ जना विद्यार्थीहरू फरम भरेका थिए। जसमा ५५ जनाले प्रवेश परीक्षामा सहभागी भएका थिए। तीमध्ये ४८ जना छनोट भएको र बाँकी ७ जनालाई वैकल्पिकको सूचीमा राखिएको विद्यालयका शिक्षक ठाकुर भाटले जानकारी दिए। यसअघि पनि महेन्द्र माविले विद्यार्थीको चाप बढेपछि कक्षा २–९ र प्राविधिकधारमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो।
पछिल्लो समयमा महेन्द्र माविले नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेर उत्कृष्ट नतिजा दिन थालेसँगै विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको हो।
अहिले जिलला निजी विद्यालयभन्दा पनि विद्यार्थी र अभिभावकको रोजाइँमा महेन्द्र मावि पर्ने गरेको छ। सर्वसुलभ शुल्कमा अंग्रेजी माध्यममा महेन्द्र माविमा पढाइ सुरु भएपछि विद्यालयले अहिले विद्यार्थी छान्न प्रवेश परीक्षा लिने गरेको छ। पछिल्लो समयमा विद्यालयले लिखित प्रवेश परीक्षा नै सञ्चालन गरेर विद्यार्थी छान्ने गरेको प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले बताए।
विद्यार्थीको आकर्षण र संख्या बढ्दै गएपछि विद्यालयले आफ्नो गुणस्तरलाई कायम राख्न नियमित परीक्षा, अतिरिक्त क्रियाकलाप, अभिभावकसँगको अन्तरक्रियालाई निरन्तरता दिइरहेको उनले बताए। विद्यालयमा आवेदन दिएकामध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन्।
जिल्ला सदरमुकामका निजी विद्यालय विद्यार्थी खोज्नका लागि गाउँगाउँ धाइरहेका बेला महेन्द्र माविमा भने विद्यार्थीको उच्च चाप छ। सामुदायिक विद्यालय भएपनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ। विद्यालयमा हाल १५ सय बढी विद्यार्थी अध्ययनरत छन्।
विज्ञान विषयका लागि लिइएको प्रवेश परीक्षामा उत्तीण विद्यार्थीको सूची–