डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो।
गाउँपालिकाले गत आर्थिक वर्षमा संचालन गरेका योजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ गरेको प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले जानकारी दिए। उनले सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
गाउँपालिकाले आव २०८०/८१ मा ४५ करोड ८८ लाख १ हजार ३०० को अनुमानित बजेट ल्याएको थियो। जसमध्ये ४२ करोड २२ लाख ८६२ रुपियाँ निकासा भएको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए। उनकाका अनुसार निकासा रकमको कुल खर्च ४० करोड १० लाख ५८ हजार ९३६ रुपैयाँ रहेको छ।
यसमा कुल बजेटको ९४.९८ प्रतिशत खर्च भएको छ। चालुतर्फ ९४.६३ प्रतिशत खर्च गरेको गाउँपालिकाले पुँजीगत तर्फ ९६.४६ प्रतिशत खर्च भएको ओझाद्धारा प्रस्तुत वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत ओझाले गाउँपालिका लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको पनि बताए। गाउँपालिकाले आव २०८०/०८१ मा ४३ लाख ४ हजार ८७० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।
कार्यक्रममा स्थानीय सेवाग्राहीहरूले सुझाव तथा जिज्ञासाहरू राखेका थिए। अधिकांश सहभागीहरूले पालिका जोड्ने र अन्य ग्रामीण सडकसम्बन्धी प्रश्न गरेका थिए।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’, उपाध्यक्ष बसन्ती पाल, प्रमुख प्रशासकीय अधिकृत ओझा, विषयगत शाखाका प्रमुखहरू र वडाध्यक्षहरूले सहभागीबाट प्राप्त गुनासाहरूको सुनुवाइ गरेका थिए।
कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, कृषक उपभोक्ता समिति, विषयगत शाखा, वडा कार्यालय तथा शहीद परिवारलाई सम्मान गरिएको थियो।